को बन्ला गण्डकी प्रदेशको मुख्य मन्त्री ?

-


     क्लिक गण्डकी     
     पौष २२ गते २०७९ मा प्रकाशित


खगराज अधिकारी र हरीबहादुर चुमान

खगराज अधिकारी र हरीबहादुर चुमान

पोखरा, २२ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरे सगँ गण्डकी प्रदेशमा सरकारमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र दाबी पेश गर्न बिहीबार आह्वान गरेका थिए ।

प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

केन्द्रको गठबन्धनमा निर्णय नहुदाँ गण्डकी प्रदेशमा को मुख्य मन्त्री हुने भन्ने निर्णय भैसकेको छैन । तर पनि नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने चर्चा छ । गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर सरकार देखिन्छ । नेकपा एमाले संसदीय दलको नेता खगराज अधिकारी हुन् ।

गण्डकीमा एमालेका २२, नेकपा माओवादीका ८ र राप्रपाका २ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्य आवश्यक पर्दछ । तीन दल मिल्दा गण्डकीमा ३२ सदस्य पुग्छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले समय अवधि भित्रै मुख्यमन्त्रीका लागि पेस गर्ने बताए ।

एमाले–माओवादीले केन्द्रको निर्णय कुरिरहेका छन् । तर, सरकार बनाउन एमाले र माओवादीको आआफ्नै दाबी छ । माओवादी केन्द्रबाट सांसदीय दलका नेता हरिबहादुर चुमान केन्द्रले निर्णय नलिँदासम्म सरकार गठनको सुरु नहुने बताए । उनले अघिल्लो पटक माओवादीले एमाले र नेपाली काग्रेस दुबैलाई मुख्यमन्त्रीमा सहयोग गरेकाले यसपटक माओवादीलाई एमालेले सहयोग गर्ने बताए ।

गण्डकी प्रदेशमा २७ सदस्य सहित नेपाली काग्रेस पहिलो पार्टी हो । त्यसै गरी २२ सदस्य सहित एमाले दोस्रो, ८ सदस्य सहित माओवादी तेस्रो र राप्रपा २ सदस्य सहित चौथो पार्टी हो । स्वतन्त्र रुपमा विजयी बनेका राजीब गुरुङ (दिपक मनाङे) नेकपा एसमा प्रबेश गरेर सगँ नेकपा एसको एक सदस्य रहेको छ ।



Tags: , ,