पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, कुन/ कुन एयरलाइन्सले गरे उडान

-


     क्लिक गण्डकी     
     पौष १७ गते २०७९ मा प्रकाशित


पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी

पोखरा, १७ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमार्फतको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पोख्रेरेलीले भव्य स्वागत गरेका छन् । हजारौ पोखरा बासीहरु विमानस्थलमा अवतरण गर्ने जहाजलाई स्वागत गरे ।

विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थ्लले पोखरा र समग्र देशकै समृद्धिमा योगदान पुग्ने बताए । उनले पोखरा अब सिधै अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएको बताए । उनले कास्कीका जनताले आफू केही दिनअघि पोखरा जाँदा प्रधानमन्त्री बन्न शुभकामना दिएको भन्दै आफू प्रधानमन्त्री बनेको बताए । उनले अब सुशासन र समृद्धिका लागि काम गर्ने बताए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखराका जनताको लामो समयदेखिको चाहना पूरा भएको बताए । उनले पोखरामा पर्यटक ल्याउन विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । पौडेलले निर्माण कार्य सम्पन्न भइसकेपछि विमानस्थलको भरपूर सदुपयोग गर्नु पर्ने बताए । अर्थमन्त्री पौडेलले विमानस्थल सही सदुपयोग गरेर विदेशी पर्यटक भित्र्याउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले लामो संर्घष पछि विमानस्थल निमार्ण भएको बताए । उनले विमानस्थलबाट छिटै नै अन्तराष्ट्रिय उडान हुने बताए । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेने विश्वास पर्यटन व्यवसायीको छ ।

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको हो । गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरेका थिए । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण भएको हो । चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थल तीन हजार ८ सय ९९ रोपनी जग्गा तयार गरिएको छ ।

२०३२ सालमै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

कुन कुन एयरलाइन्सले गरे उडान
आइतबारदेखि संचालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध, यती, सौर्य, श्रीएयरलाइन्स, समिट एयरलाइन्स र गुण एयरलाइन्सका जहाज अवतरण र उडान गरेका छन् । त्यसै गरी हिमालय एयरलाइन्सको एयर बस ३२० ले पनि प्रर्दशन उडान गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनेको खुसीयालीमा हजारौं पोखरेली विमानस्थलमा पुगेका थिए ।