पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक

-


     क्लिक गण्डकी     
     पौष ७ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको

सागर राज तिमिल्सिना
पोखरा, ७ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरलाइन्सले बिहीबार परीक्षण उडान गरेका छन् । बिहीबार दुबै एयरलाइन्सले पोखरा विमानस्थलबाट उडान गरेर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

आगामि जनवरी १ देखि औपचारिक रुपमा संचालनमा आउन लागेको विमानस्थलको तयारी स्वरुप दुबै कम्पनीका एटिआर–७२ जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका हुन् । त्यही विमानस्थबाट उडान पनि गरेका छन् । उडान सफल भएपछि दुबै विमान कम्पनीले आफुहरु व्यवसायीक उठानका लागि तयार रहेको बताए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरण (क्यान)को तयारी छ । विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण), हवाइ उद्धार अध्यास लगाएका काम पनि सकिएका छन् । सबै तयारी भई सकेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । उनले पोखरा विमानस्थलाबाट स्वदेश र विदेश दुबै ठाउँमा उडानका लागि तयार भइसकेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराउने झन्डै चारदशक लामो सपना पुरा भएको छ । व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनिले बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दुवैतिर (पूर्व र पश्चिम) बाट जहाजको अवतरण गराइएको थियो । विमान अवतरण पछि पोखराका व्यवसाहीहरुले खुसी व्यक्त गरे । विमानस्थल सञ्चालन सगँ पर्यटन क्षेत्रमा उत्साह थपिने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

जहाजमा पर्यटन व्यवसायी, पोखरा महनगरका मेयर धनराज आचार्य, हवाई उड्ययन क्षेत्रका पदाधिकारी सहितका यात्रुहरु सहभागी भएका थिए । चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थल तीन हजार ८ सय ९९ रोपनी जग्गा तयार गरिएको छ ।

२०३२ सालमै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । थप जग्गा आयोजनाले चरणबद्ध रूपमा अधिग्रहण गरेको थियो । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।



Tags: