
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान योग्य भएको यान्त्रिक परीक्षण देखाएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ ।
यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाल बताए । उनले क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन सबै राम्रो आएको भन्दै प्रतिवेदनको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन छिट्टै प्रकाशन गर्ने बताए ।
यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गरिनेछ । एरोथाई कम्पनीको जहाजले मंसिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो ।
यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । क्यानले पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।





