
डिज्नील्याण्ड एकेडेमी
पोखरा, २६ मंसिर/ पोखरा–७ मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ नागरिक सम्मानित भएका छन् । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थी र ज्येष्ठ नागरिकलाई सम्मान गरे ।
विद्यालयबाट २०७८ सालको एसइईमा ४ जिपिए ल्याई नेपालभरिमा उत्कृष्ट अंक हासिल गर्न सफल ऋतिका पोखरेललाई सम्मान गरे । त्यसै गरी पूर्व छात्रा सचिता पराजुलीलाई कर्णाली प्रदेशबाट सिटिइभिटीअन्तर्गत पिसिएल नर्सिङमा सर्वोत्कृष्ट अंक हासिल गर्न सफल भएकोमा अभिनन्दन गरे । सोही अवसरमा जेष्ठ नागरिक र जनप्रतिनिधिहरुलाई सम्मान गरे ।
२०६३ सालमा स्थापित विद्यालयमा हाल ६ सय ५० विद्यार्थी अध्ययनरत छन् भने ५२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयका प्राचार्य नरेशप्रसाद बरालले जानकारी दिए । प्रिस्कुलदेखि कक्षा १० सम्म संचालित यस विद्यालयले आगामी शैक्षिक सत्र–२०८० बाट मानविकी, वाणिज्य र कानुन विषयमा १० जोड २ मा अध्यापन गराउने बरालले बताए ।
विद्यालयले विद्यार्थीको नियमित अध्ययन मात्र नभई उनीहरुमा क्षमता अभिबृद्धि गर्न काम गर्ने आएको बताए । विद्यालयको मासिक शुल्कको करिब २० प्रतिशत शुल्क विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये जेहेनदार, गरिब तथा पिछडिएका समुदाय दलित, जनजाति, मुस्लिम र कोभिडले आर्थिक अवस्था कमजोर हुन पुगेका लगायतको शीर्षकका छात्रवृत्ति उपलब्ध गराएको उनको भनाई छ ।
वार्षिकोत्सव अवसरमा पुरस्कार वितरणका साथै विविध सांस्कृतीक कार्यक्रमहरु चित्रकला प्रदर्शनी, साइन्स प्रदर्शनी भएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा ७ का वडाध्यक्ष राममोहन आचार्य, विद्यालय निर्देशक मित्रबन्धु पोखरेल विद्यालयका शैक्षिक गतिविधिका बारेमा जानकारी दिएका थिए ।





