
मेला परिषद्मा राखिएको टेन्ट । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २४ मंसिर/ पोखरामा ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा शुरु भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा पोखरा अन्तर्राष्ट्रिय संग्रहालयमा दुई दिन सम्म महोत्सव सञ्चालन हुने छ ।
हिमाली क्षेत्रका मद्धुालाई प्राथमिकतामा राखि विविध कार्यक्रम महोत्सवमा सञ्चालन भएका छन् । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । उनले विश्वका आठहजार मिटर भन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमा भएको तथ्याङ्क रहे तापनि नेपालमै आठहजार मिटर भन्दा अग्ला अरु धेरै हिमाल रहेका दाबी पनि रहेको बताए ।
यस बारेमा अध्ययन गरेर आठहजार मिटर माथिका अन्य हिमालहरु रहेछन् भने तीनको पहिचान गरी मान्यता दिलाउने कार्यमा सरकार गम्भिरतापूर्वक लाग्नु पर्ने उनको भनाई छ ।
उनले नेपालका थुप्रै हिमालहरुको आरोहण खुल्ला गर्न बाँकी रहेको बताउदै खुल्ला गरिए पनि आरोहण हुन बाँकी थुप्रै हिमाल रहेको बताए । विदेशी आरोहीहरुलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्नसक्ने यस प्रकारका हिमालहरुको आरोहण खुल्ला गर्न र आरोहण हुन बाँकी हिमालहरुको आरोहण गर्ने गराउनेतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा पर्यटन मन्त्री जिवनराम श्रेष्ठले नेपालले अन्य राष्ट्रहरुले गरेको प्राकृतिक सगँ सम्बन्धी सजाय भोग्नु परेको बताए ।
महोत्सवमा सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर रुपमा कसरी बनाउन सकिन्छ भने विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई महोत्सवमा समाबेश गरेको छ । महोत्सव अवधिभर हिमाली क्षेत्रमा उत्पादित वस्तुहरु, हिमाली क्षेत्रमा जादा लगाउने कपडा, टेन्ट लगाएतका सामग्री प्रर्दशनीमा राखिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको यस वर्षको नारा वुमन मुभ माउन्टेन रहेको छ ।







