
जिल्ला अदालत कास्की
पोखरा, २० मंसिर/ सार्वजनिक किरियापुत्री भवनमा जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद र जरिवान तोकेको छ । पोखरा १६ बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको ईजलासले सोमबार पीडक देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कार्वाहीको फैसला सुनाइन् ।
न्यायाधीश भट्टराईले जातिय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाँय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गरेकी हुन । ऐनको दफामा जातिय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ बर्षसम्म कैद सजाय, ५० हजारदेखि २ लाख जरिवाना, पीडितलाई २ लाखसम्म क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
पोखरा महानगरपालिका १६ वाटुलेचौरमा रहेको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्नका लागि चाँवी माग्दा स्थानीय मोहनकुमार सुनारलाई जातिय भेदभाव गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितकोतर्फबाट शिव सुनारले बहस गरेका थिए ।
पोखरा १६ वाटुलेचौरमा २०७७ बैशाख १४ गते किरियापुत्री भवनको चाँवी माग्दा मोहन सुनारलाई भेदभाव भएको भन्दै बैशाख १८ गते जाहेरी दिएका थिए । जाहेरी दिएको केहि समयपछि प्रहरीले आरोपिहरुलाई पक्राउ गरेर अदालतमा थुनछेकको बहस हुँदा जनही १ लाख ७० हजार धरौटीमा रिहा भएका थिए ।





