
गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी
गोरखा, १६ मंसिर/ गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी भएको छ । होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित एक हप्ते एड्भान्स कुकिङ तालिमको समापनमा त्यस्तो बताएका हुन् । युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टले सघाएको थियो ।
तालिमको समापन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको सन्दर्भमा आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताए । गोरखा जिल्लामा थप होटल र पर्यटकीय पूर्वाधारको विकास गर्न बाँकी नै रहेको भन्दै उनले जिल्लामा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले विविध योजनाहरु क्रमशः अगाडि बढाउँदै लैजाने जानकारी दिए ।
यसै अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालिन फौजको झल्कोदिने गरी पर्यड आरम्भ गरिने जानकारी पनि उनले दिए । यस्तो पर्यड साँझ अघि हरेक दिन संचालन हुने र यसले पर्यटकलाई भुलाउने वातावरण तयार हुने उनले सुनाए ।
यसका अतिरिक्त छेपेटारमा कृत्रिम ताल निर्माण गरी नौका सयर, माछा मार्ने, वरपर होटल तथा रेष्टुराँहरुको संचालन, तालमा जम्मा हुने वालुवाको उत्खनन् गरी यसको सदुपयोग गर्दै अघि बढ्ने योजना नगरपालिकाको रहेको उनले बताए । ‘आर्थिक र पर्यटनका हिसावले गोरखा जिल्लालाई हामी अगाडि बढाउन चाहन्छौं,’ उनले भने– गोरखा जिल्लाको मुख्य संभावना नै पर्यटन रहेको छ ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटनलाई अगाडि बढाउन सीप, दक्षता र सकारात्मक सोचको आबश्यकता पर्ने भन्दै यसका लागि तालिमले सघाउ पुगेको बताए । छोटो तयारीमा पनि होटल संघ गोरखाले तालिम संचालन गरेको बताउँदै उनले आगामि दिनमा यसप्रकारका तालिम गण्डकीका ११ वटै जिल्लामा संचालन गर्ने योजना रहेको जानकारी दिए । तालिम सम्पन्न गरेका सहभागीलाई आबश्यक परे रोजगारी प्रदान गर्न संघले पहल गर्ने विश्वास पनि उनले दिलाए ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सिकाई भन्ने विषय सधैं अपुरो नै रहने बताउँदै जिल्लामा सम्पन्न तालिम सिकाईको सुरुवात भएको बताए । तालिमले रोजगारीमा समेत टेवा दिई विदेश जान खोज्ने जनशक्तिलाई स्वदेशमा नै रोक्न सहयोग पुग्ने विचार पनि उनले राखे । पोखराको पर्यटनका लागि १५ हजार जनशक्ति आबश्यक पर्नेमा १० हजार श्रमशक्ति कोभिड लगायत विविध कारणले पलायन हुँदा समस्या परेको तथ्यांक पनि उनले दिए ।
होटल संघ नेपाल गोरखाका अध्यक्ष एवं गण्डकीका सचिव मानप्रसाद धितालले रैथाने खानालाई पनि मिठो गरी पकाउन र आन्तरिक पर्यटनलाई जिल्लामा आकर्षित गर्न तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गरे । तालिमका सहभागी, अतिथि एवं प्रमुख अतिथिलाई उनले धन्यवाद ज्ञापन गरे । होटल संघ नेपाल गण्डकीका सदस्य एवं तनहुँका अध्यक्ष जीवन साहीले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।
तालिमको प्रमुख प्रशिक्षकमा श्याम तामाङ र अर्का प्रशिक्षक एवं आलिदेखि थालीसम्म अभियानका अभियन्ता लक्ष्मण भण्डारी रहेका थिए । सहभागीहरुका तर्फबाट राजु गुरुङ र शर्मिला गुरुङले आफ्ना अनुभव सुनाएका थिए । तालिमकी सहभागी शर्मिला वाग्ले आचार्यले कार्यक्रम संचालन गरेकि थिइन् ।
गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी लगायतका अतिथिले तालिमका ४० सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।





