
कुमार खड्का

पोखरा, २९ कार्तिक/ पार्टीका उमेद्वारलाई हराउन भूमिका खेलेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार मन्त्रीबाट बर्खास्त गरेका हुन् ।
मन्त्री खड्काले कास्की २ (ख) बाट उमेद्वार बनेका विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ । उनी गण्डकीको प्रभावशाली मन्त्रीका रुपमा मानिन्थे । तर, उनले टिकट वितरणको समयमा समेत गुटको भेला राखेर आफूले मुख्यमन्त्री बन्ने दावीसहित टिकट मागेका थिए ।
क्षत्री समाजको राजनीति गरेर उदाएका उनी अघिल्लो निर्वाचन २०७४ सालमा तत्कालीन अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएर समानुपातिक सांसद बने थिए । खड्कालाई बर्खास्त गरेपछि मुख्यमन्त्री नेपालीले नै भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीसमेत लिएका छन् ।
मुख्यमन्त्रीको सिफारसिमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । केही दिन पहिले उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरि शरण आचार्य पनि बर्खात भएका थिए ।





