
बुद्ध एयर
पोखरा, २८ कार्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । आगामी जनवरीबाट पोखरा–बनारस–पोखरा उडान गर्ने बुद्ध एयरले जनाएको छ ।
सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा विमानस्थल आगामी जनवरी १ (पुस १७)मा उद्घाटन गर्ने सरकारको तयारी छ ।
विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको कार्य प्रगती अनुसार सन् २०२३ जनवरी महिनाबाटै अन्तर्राष्ट्रिय उडान सुरू हुने हुँदा बुद्धले पहिलो उडान गर्ने विज्ञप्तीमा उल्लेख छ ।
बुद्धले सातामा आइतबार, मंगलबार, बिहीबार तीन उडान गर्ने योजना बनाएको छ । बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा काठमाडौं–बनारस–काठमाडौं उडान गर्दै आइरहेको छ ।
बुद्धले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै एयर ट्राफिक सर्भिस रूटको लागि नेपाल सरकार र भारतीय सरकारसँग पहल भइरहेको जनाएको छ ।
भारत सरकारबाट रूट र स्लट स्वीकृति हुनासाथ पोखरा–दिल्ली–पोखरा दैनिक दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडान गर्ने गरी प्रक्रिया अगाडी बढाएको विज्ञप्तीमा उल्लेख छ ।





