वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड

-


     क्लिक गण्डकी     
     कार्तिक २३ गते २०७९ मा प्रकाशित


वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड

पोखरा, २३ कार्तिक/ रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा जाने महिलाहरुमा थुप्रै चुनौति देखिएको भन्दै यसलाई न्यूनिकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागिहरुले सुरक्षित र मर्यादित सेवाको सुनिश्चिता हुनुपर्नेमा जोड दिएका हुन् ।

वैदेशिक रोजागरका लागि दुबई र कतार गएर फर्किनु भएकी देवी सुनाले वैदेशिक रोजगार अवसरसँगै चुनौति भएकाले यसमा देखिएका समस्याको समाधानमा महिला आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा आफूले निकै दुःख भोग्नु परेको अनुभव सुनाउनुभयो ।

कुवेतबाट फर्कनु भएकी पार्वति दमैले आफूलाई वैदेशिक रोजगार सम्बन्धि नीति नियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाउनुभयो । घरेलु कामदारको रुपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उहाँले सरकारका कतिपय नीति नियमबारे आफूहरु अन्जान रहँदा पनि पीडित हुनुपरेको उहाँको भनाइ थियो । उहाँले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडी मुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहन समेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोख्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले हरेक क्षेत्रमा समस्याहरु देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीति नियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको औल्याउनुभयो ।उहाँले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भएपनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने भनाइ राख्नुभयो ।

शिक्षा संस्कृति विज्ञान प्रविधि तथा समामाकिज विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले सरकारले निषेध गरेका मुलुक बाहेकका मुलुकमा जाँदा श्रम स्विकृति लिएर सीपसिकेर जाँदा समस्या कम हुने बताउनुभयो । उहाले समस्या माथि छलफल र बहस गरेपछि समाधानको उपाय निस्कने जनाउँदै महिला आयोगको पहिलो पल्ट बैदेशिक रोजगारमा महिलाको सवाललाई प्राथमिकता दिएर सार्वजनिक सुनुवाइ गरेकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रमा श्रम तथा रोजगार मन्त्रालयका श्रम अधिकृत लक्ष्मण बरालले गण्डकी प्रदेशमा महिलाको वैदेशिक रोजगारी सम्बन्धी सवालहरु र महिलाहरुको सुरक्षित तथा मर्यादित रोजगारीका लागि अवलम्बन गर्नुपर्ने उपायहरुको बारमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गण्डकी प्रदेशको २०७८ ७९ को तथ्यांकमा ९६ हजार ९ सय ९८ जना मध्य पाँचहजार २ सय ११ जना महिला वैदेशिक रोजगारमा गएका छन् ।

त्यसैगरी सामी परियोजना गण्डकीका प्रमुख उमा शर्माले वैदेशिक रोजगारीमा गएका महिलाप्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको र सकारात्मक भन्दा नकारात्मक विषयले बढी प्राथमिकता पाउँदा वैदेशिक रोजगारमा गएर आएका महिला समाजमा खुल्न नसकेको बताउनुभयो । राष्ट्रिय महिला आयोगका उपसचिव सिता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिला माथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक भएसँगै आयोगले २१ वर्षको इतिहसामा पहिलोपल्ट वैदेशिक रोजगार र महिलाको सवाललाई चासो दिएर कार्यक्रम गरेको बताउनुभयो ।

आयोगका अध्यक्ष कमला पराजुलीले महिला अधिकारको समग्र विकास गरी लैगिंक न्याय कायम गर्न बनेको महिला आयोगले पछिल्लो समय वैदेशिक रोजगारमा रहेका महिला माथि हुने हिंसाका धेरै घटना बाहिर आएको र यसलाई न्यूनिकरण गर्नका लागि आज उठेका सवाल र सुझावहरुले आगामी रणनीतिक योजना बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो ।

कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख सरीता माल, सामाजिक विकास मन्त्रालयका उपसचिव जमुना पौडेल, इलाका प्रशासन कार्यलय लेखनाथका कमलराज भण्डारी, प्रेसकाउन्सिलका सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा, नेपाल वारको केन्द्रिय महिला समिति सचिव विनिता नेपाली लगायतले वैदेशिक रोजगारमा महिलाको अवस्था र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुराहरुमा सुझाव राख्नुभएको थियो । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा मात्र नभइ यसले सृजना गरेको पारिवारिक वेमेल, मानसिक स्वास्थ्यमा देखिएको समस्या लगायतका विषयमा पनि अध्ययन जरुरी रहेको उहाँहरुको भनाइ थियो ।