
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २१ कार्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० अर्थात मंसिर १४ गते यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ ।
जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ । जहाजले यान्त्रिक उडानमार्फत् विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको चेकजाँच गर्नेछ ।
एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
चराविज्ञले छोटो रिसर्च गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुवातमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताए ।





