
प्याराग्लाइडिङ
पोखरा, ५ कात्तिक /नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध शनिबार देखी खुला गरेको छ । प्राधिकरणले प्याराग्लाइडिङ शनिबारबाट खुला गर्ने निर्णय गरेको हो ।
प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त अनिवार्य पालना गर्नु पर्ने बताएको छ ।
सर्तहरू यस्ता छन्
१. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन प्रतिबन्ध लगाएको छ ।
२. १५ दिनभित्र हवाइ खेलकुद संघ, नेपालबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल–२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
३. व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ ।
४. व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ’एयर–वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने छ ।
५. पाइलटको ’रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस.आइ.भी’ तथा आपतकालीन अवस्थामा ’ट्यान्डेम रेस्क्यु’ उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक गर्ने ।
गत असोज २९ गते पोखरामा, नवौं राष्ट्रिय खेलकुदको क्रकमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ दुर्घटनामा परी मृत्यु भएपछि प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको थियो ।
घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणले गत बुधबार उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।
समितिले शुक्रबार नै छानबिन प्रतिवेदन बुझाएपछि प्राधिकरणले सर्तसहित देशभरका प्याराग्लाइडिङ उडानमा लागेको प्रतिबन्ध खुला गरेको हो ।





