कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो
पोखरा, २० असोज/ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा मुख्य तथा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालय रहेको ठाउँमा खोलिएको छ । कास्की क्षेत्र नम्बर ३ को कार्यालय पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तोकिएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
त्यसै गरी क्षेत्र नम्बर १ को कार्यालय पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक र क्षेत्र नम्बर २ को कार्यालय पोखरा सभागृहमा खोलिएको निर्वाचन अधिकारी पराजुलीले जानकारी दिए ।
निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ताको मिति तय भएको छ । त्यसैको तयारी स्वरुप आज निर्वाचन अधिकृतको कार्यलय खुलेको पराजुलीले बताए ।
मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, अनिलकुमार शाही, निर्वाचन अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत सहभागी थिए ।