राष्ट्रपतिको कदमले सिस्टम माथि अट्याक भयो – माओवादी नेता देव गुरुङ
पोखरा, १५ असोज/ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणाली (सिस्टम) माथि आक्रमण गरेको टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेर सिष्टम माथि आक्रमण गरेको आरोप लगाए ।
उनले प्रजातन्त्रमा कुनैपनि विषयमा मतभेद र विमत्ती हुनसक्ने भएपनि विधि र प्रक्रिया पूरा गर्नु सबैको दायित्व भएको बताए । विधि र प्रक्रिया अनुसार नचलेर सिस्टममाथि अट्याक गरेको बताए ।
माओवादी महासचिव गुरुङले राष्ट्रपतिको पछिल्लो कार्यले शक्ति पृथकीकरणको सिद्धान्त माथि पनि प्रश्न उठाएको बताए । संसदले पारित गरेका विषय राष्ट्रपतिले डेढलक गर्ने, प्रमाणीकरण नगर्ने नगर्दा व्यवस्थापिकाको औचित्य माथि प्रश्न खडा हुने बताए ।
उनले एमाले अध्यक्ष केपी ओली घोर पश्चगामी नेता भएको टिप्पणी गरे । पश्चगामी सोंचकै कारण ओलीले दुई/दुई पटक संसद विघटन गर्ने, संविधानमाथि आक्रमण गर्ने प्रयास गरेको उनको आरोप लगाए । उनले पूर्व राजा ज्ञानेन्द्र शाहले निकाले विज्ञप्त प्रतिपनि आपत्ति जनाए ।