बिन्दुकुमार थापा
पोखरा, १३ असोज/ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचे अनुरुप काम हुन नसकेको समेत स्वीकार गरे ।
गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोत लगायत क्षेत्रमा गरेको कर बृद्धि निर्वाचन मिति घोषणापछि सच्चाएको समेत मन्त्री थापाले बताए । उनले भने, ‘संघीयतापछि पहिलो प्रदेश सरकार भएकोले कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौं ।’ उनले बजेट निर्माणका क्रममा आफूले कुनै भूमिका नपाएको र आफ्नो मन्त्रालयलाई समेत पाइआएको बजेट कटौती भएको गुनासो गरे ।
पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ (२) बाटै चुनाव लड्ने मन्त्री थापाले इच्छा व्यक्त गरे । पार्टीले योगदान र जित्ने आधार हेरेर जसलाई टिकट दिन्छ, उसैलाई नै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । २०७४ सालको चुनावमा कास्कीमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा क्षेत्रमा कांग्रेसबाट जित्ने उनै बिन्दुकुमार थापामात्रै हुन् ।
कास्की २ (२) क्षेत्रकै बहालवाला भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्का उनका प्रतिस्पर्धी छन् । दुवै मन्त्रीले आगामी मंसिर ४ को प्रदेशसभा चुनावमा टिकटका चुनावमा केन्द्रमा लबिङ गरिरहेका छन् । उता, मन्त्री खड्काले गुटको भेला गरेकोमा मन्त्री थापाले आपत्ति जनाए ।
सांसदको ५ वर्षे कार्यकाल
मन्त्री बिन्दुकुमार थापाले प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाइ आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गरेका छन् । २०७४ सालमा र्निाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा उनले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले प्रदेशसभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष ९ लाख ३ हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको जानकारी दिए । थापाले सार्वजनिक गरेको विवरणअनुसार २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ रहेको छ ।
जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको भएको मन्त्री थापाले बताए । मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता जनाएका थिए । उनले प्रदेश सरकारबाट प्राप्त निवासको सुविधासमेत लिएका छैनन् ।
उनले आफूले पाएको पारिश्रमिक सामाजिक खर्च गर्दा आत्मसन्तुष्टी भएको प्रतिक्रिया दिए । उनले भने, ‘आफूले दिएको रकमले गरिब, विपन्न तथा बिरामीलाई मद्दत पुग्ने हुँदा आत्मसन्तुष्टी मिल्छ ।’ प्रेस युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।