
फेवातालको किनारमा निर्माणाधीन संरचना हटाउन पोखरा महानगर आग्रह
पोखरा, १ असोज/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल देखि ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन प्रमुख आचार्यले निर्देशन दिएका हुन् ।
ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले संरचनाहरू निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामग्रीहरू जफत गर्न नगर प्रहरीलाई निर्देशन दिए ।
महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गर्नु पर्ने बताए । लेकसाइडको खहरेस्थित भेगन रेस्टुरेन्ट चलाइरहेका व्यवसायीले अवैध संरचना निर्माण कार्य रोक्नु भन्ने सूचना दिन पुगेका नगर प्रहरीलाई ज्यान लिने धम्की दिएका छन् ।
उनले आफूले कुनै संरचना नभत्काउने र महानगरलाई पनि भत्काउन नदिने चुनौती पनि दिए । उनले ताल किनारमा बनाएको घर र व्यवसाय दुवै मापदण्ड विपरीत रहेको र महानगरबाट कुनै स्वीकृति लिएका छैनन् । प्रमुख आचार्य सहितको टोली फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसार पुगेर फर्किएको छ ।
फेवातालको माथिल्लो क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने उनले बताए । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाइने उनले बताए । महानगरभित्र भूमिको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
पोखरा महानगरपालिकाले फेवाताल किनारको ६५ मिटर क्षेत्रभित्र निर्माणाधीन संरचनाको निर्माण सामग्री हटाउन सूचना निकालेको छ । महानगरले करिब ४ वर्षअघि सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै सूचना निकालेको हो ।