पोखरा पिस क्लबको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
पोखरा, ३० भदौ/ सामाजिक विकृति र विसंगति विरुद्ध क्रियाशील पोखरा पिस क्लबले बिहीवार क्लबको १७ औं स्थापनाका दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखासँग समन्वय गरि संयुक्तरुपमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राममोहन आचार्यबाट पहिलो रक्तदाता विष्णु सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे ।
आचार्यले वडाभित्र पुरानो इतिहास बोकेर निरन्तर क्रियाशील रहेको साथै विभिन्न कार्यक्रममार्फत जिल्ला तथा राष्ट्रिय रुपमा पनि परिचित हुने कार्य गरिरहेकाले यस्ता गतिविधिमा निरन्तर पाइला अगाडि बढिरहोस् भनि शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँले आफू रेडक्रस अभियान तथा सामाजिक सेवा दुबै प्रकृतिका संस्थामा लामो समयदेखि क्रियाशील रहेको हुनाले वडाको तर्फबाट यस्ता संघसंस्थाहरुसँग सदैव हातेमालो गरि अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपसभापति डण्डराज शर्माले युवाहरुको भावना समेट्दै स्थापित पोखरा पिस क्लबले स्थापना दिवसको अवसरमा निरन्तर गरिने यो कार्यक्रमले कसैको जीवन रक्षाका निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।रेडक्रस जस्तो संस्था संस्थासँग आकस्मिक अवस्थामा पनि सदैव साथ दिदै आएको इतिहास स्मरण गर्दै विभिन्न गतिविधि सहित मानवीय सेवा अभियानमा पनि सधैं यसरीनै लागिरहोस् भनी शुभकामना ब्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखाका सभापति तथा पोखरा पिस क्लबका पूर्व अध्यक्ष भोजराज बराल,नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखाका पूर्व सभापति तथा सल्लाहकार तेजनारायण अधिकारी,मासबार आमा समूहका अध्यक्ष शारदा गिरीले नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखा,मासबार आमा समूह लगायतका अग्रज संघसंस्था तथा सामाजिक सेवामा निरन्तर अग्रसर यस क्षेत्रका अगुवाहरुको प्रेरणाबाट २०६३ सालमा पोखरा–७ र ५ मा अवस्थित युवाहरूको सामुहिक प्रयासबाट स्थापित पोखरा पिस क्लबले आफ्ना गतिविधिहरुलाई निरन्तरता दिँदै सामाजिक, शैक्षिक, रचनात्मक, मनोरञ्जन तथा खेलकुद क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्दै सफलताको शिखरमा सधैं लम्किरहोस् भनि शुभकामना दिएका थिए ।
पोखरा पिस क्लबका अध्यक्ष प्रताप आचार्यले क्लब स्थापनाका लागि खटिनुभएका संस्थापकज्यूहरु, क्लबलाई विभिन्न आरोह अवरोहका वावजुत एकताको सुत्रमा बाधेर निरन्तर क्रियाशील बनाउन लागिरहनुभएका ब्यक्तित्वहरु, क्लबका विभिन्न कालखण्डमा सहयोग गरिरहनुभएका देशविदेशमा रहनुभएका सदस्यज्यूहरु, अग्रज संस्था र अग्रज समाजिक ब्यक्तित्वहरु,क्लबका सम्पूर्ण तप्काका सदस्यज्यूहरु लगायत सम्पूर्ण शुभचिन्तकज्यूहरुमा हार्दिक आभार ब्यक्त गरेका थिए ।
रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको कार्यक्रममा जम्मा २४ युनिट रक्त संकलन गरिएको थियो।बर्षाले प्रभाव पार्दापनि रुझ्दै भिज्दै “रक्तदान गरौं जीवन उपहार दिऊ” भन्ने रेडक्रसको नारालाई आत्मसात गर्दै जीवन उपयोगी महादानमा सरिक हुने सम्पूर्ण रक्तदाताहरुलाई कार्यक्रम संयोजक तथा पोखरा पिस क्लबका सचिव सन्तोष बरालले धन्यवाद दिएका थिए ।
पोखरा पिस क्लबका अध्यक्ष प्रताप आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोष बरालले गरेका थिए ।