पोखरा महेन्द्रपुलका सार्वजनिक जग्गामा बनेका भवन भत्काउने
पोखरा, १६ भदौ/ पोखराको महेन्द्रपुल चोकस्थित सार्वजनिक जग्गामा बनेका भवन महानगरले भत्काइने भएको छ । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ती भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी गरेका छन् ।
महेन्द्रपुल सार्वजनिक शौचालय तथा पार्क निर्माण संघर्ष समितिले बुधबार पोखरामा सरोकारवालासँग गरेको कार्यक्रममा मर्सानीले ती भवन भदौ २२ गते पछि भत्काइने बताए ।
महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी संचालन हुँदै आएका छन् भने सटरमा व्यापार व्यवसाय हुँदै आएको छ । ती भवनमा व्यापार व्यवसाय गर्नेले भाडा समेत नतिरेको वडाध्यक्ष मर्सानीले बताए । भाडा तत्काल तिर्न र त्यहाँबाट व्यापार हटाउन समेत उनले भनेका छन् ।
भवन हटाएपछि उक्त स्थलमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको मर्सानीले सुनाए । त्यहाँबाट हट्ने पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने अध्यक्ष मर्सानीले जानकारी दिए । त्यहाँ रहेको २ रोपनीमा २ करोड रुपैयाँको लागतमा भवन निर्माण हुने छ ।