व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवज प्रजापति प्यानल
पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्षका उमेद्वार पवन प्रजापति सहितको टोली व्यवसायीहरुको घरदैलोमा पुगेका छन् । बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजारका व्यवसायीहरु समक्ष पुग्यो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा आएर व्यवसायीहरुको हकहितको पक्षमा उनीहरुको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रजापति प्यानलले आफ्नो पक्षमा भोट मागिरहेको छ ।
अध्यक्ष प्रत्यासी पवन प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायीहरु यतिबेला सबैभन्दा बढि समस्यामा रहेको बताउँदै संस्थागत रुपमा आफू नेतृत्वमा पुगेपछि ती व्यवसायीहरुको समस्यालाई सहजीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए । अहिले हामी सबैभन्दा ठुलो चुनौतीका बीच संघको नेतृत्वमा आउनका लागि व्यवसायीहरुको माझमा पुगिरहेका छौँ । उनले भने व्यवासायिक र आर्थिक हिसाबले सबै व्यवसायीहरु ठुलो समस्यामा छन् । म निर्वाचित भएसँगै व्यवसायीहरुलाई सहज बनाउनका लागि वित्तिय क्षेत्रसँग समन्वय गरि संघको तर्फबाट काम गर्नका लागि तम्तयार छु । प्रजापतिले आफुसँगै आफ्नो समूह व्यवसायीहरुलाई तत्काल समस्याबाट बाहिर निकाल्नेगरि योजनाबद्ध रुपमा अगाडि आएको प्रस्ट पारे ।
आफ्नो पक्षमा मत माग्दै व्यवसायीको घरदैलोमा पुगिरहेका प्रजापति र उनको समूहलाई अधिकांश व्यवसायीहरुले आफ्ना समस्याहरु सुनाईरहेका छन् । अधिकांश व्यवसायीहरु लकडाउनको मारपछि वित्तिय संस्थाहरुबाट बढि पेलिएको गुनासो गरिरहेका छन् । व्यापार व्यवसायमा आएको गिरावटसंगै बजारमा भएको मूल्यवृद्धि र वित्तिय संस्थाहरुबाट आउने दबाबले यतिबेला व्यवसायीहरु आजित छन् । अधिकांश व्यवसायीहरुले यी र यस्ता समस्याहरुको हल नीतिगत तहबाटै संघको पहलमा होस् भन्ने चाहन्छन् । र, प्रजापति समूह पनि व्यवसायीहरुको यस्तै मिहिन समस्याहरुलाई समाधान गर्न नीतिगत रुपमा लाग्ने उद्घोषसहित चुनावी मैदानमा देखिएको छ ।
बुधबार घरदैलोको क्रममा भेटिएका नेपाल औषधी थोक व्यवसायी संघ गण्डकीका अध्यक्ष रुद्रनारायण मल्लले प्रजापति प्यानलका उम्मेदवारहरुलाई प्रत्येक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा सहज हुने वातावरण निर्माण गर्ने गरि योजनाबद्ध रुपमा संघमा आउन सुझाव दिए ।
भदौ २४ र २५ गते हुने आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनका लागि पवन प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।