एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, ४ भदौं/ गत साउन २ गते पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोरेर चोरी गर्ने एक जना पक्राउ परेका छन् । चोरीमा संलग्न रहेको आरोपमा पोखरा ३१ का अनिश तामाङलाई गण्डकी प्रदेश प्रहरी कार्यालय र डाँडाको नाक प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले घटनामा एक जना पक्राउ परेको भएपनि घटनाको अनुसन्धान जारी रहेका कारण थप विवरण खुलाउन नमिल्ने बताए । तामाङले विना हातहतियार एटिएमको बक्स खोलेर त्यहाँ भएको १४ लाख ७१ हजार पाँचसय रुपैयाँ चोरी गरेका थिए ।
वैशाख यता पोखरामा ४ पटकसम्म एटिएम मेसिन फोडेर रकम निकाल्ने प्रयास भएको थियो । जसमध्ये प्रहरीले अन्य ठाउँमा तत्कालै पक्राउ गर्न सफल भएपनि लेखनाथको अर्घौंचोकको घटनामा भने कुनै पनि सुराक भेट्न सकेको थिएन । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर मातिएका अभियुक्त तामाङले लेखनाथका एक शिक्षकको मोटरसाइकल चोरी गरेर घटनामा प्रयोग गरेका थिए ।
एटिएम मेशिन कसरी फोड्ने भन्ने बारेमा युट्युबबाट सिकेका अभियुक्त तामाङले बैंकका कर्मचारीको कमजोरीको फाइदा उठाएर सजिलै एटिएम मेशिन फोडेको प्रहरीको भनाई छ । एटिएम मेशिनको सुरक्षात्मक उपाय अपनाउन खटिएकी बैंककी महिला कर्मचारीले पूर्ण रुपमा बिधि पुरा नगरेको देखिएको प्रहरीको भनाई छ ।
एक महिना लगाएर मुस्किलले पक्राउ परेका अभियुक्त तामाङको साथबाट प्रहरीले चोरी भएको रकम भने बरामद गर्न सकेन । उनले आफुले चोरी गरेको रकममध्ये झन्डै तीन लाख ५० हजार रुपियाँ बराबरको मोटरसाइकल किनेको र बाँकी रहेको रकम डिस्को र दोहोरी चहारेर सकेको प्रहरी समक्ष बताएका छन् ।