महानगरका प्रमुखहरूद्वारा सराङकोटमा लालीगुराँस सारे

-


     क्लिक गण्डकी     
     श्रावण १४ गते २०७९ मा प्रकाशित


महानगरका प्रमुखहरूद्वारा सराङकोटमा लालीगुराँस सारे

महानगरका प्रमुखहरूद्वारा सराङकोटमा लालीगुराँस सारे

पोखरा, १४ साउन/ देशभरका महानगर प्रमुखहरूको उपस्थितिमा सराङकोट शिव मन्दिर भ्यु टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवाहरू सारिएको छ । महानगर मेयर सम्मेलन २०७९ का लागि पोखरा आउनुभएका ६ वटै महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा सार्नु भएको हो ।

पोखरा आसपासका अग्ला डाँडाहरूमा लालीगुराँस रोप्ने र खालि जग्गामा सौन्दर्यीकरण गर्ने उद्देश्यका साथ देशभरका महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिवार सराङकोटमा लालीगुराँसका बिरुवाहरू सारिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । साथै अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले आवश्यक सहयोग समेत गर्ने प्रमुख आचार्यले बताउनुभयो ।

कार्यक्रममा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको उत्साहजनक सहभागिता रह्यो । उहाँहरूले सराङकोट जस्तो पर्यटकीय र रमणीय स्थानमा नेपालको राष्ट्रिय फूल लालीगुराँस सार्ने अवसर दिएकोमा पोखरा महानगरपालिका प्रति आभार समेत व्यक्त गर्नुभयो । हरियाली तथा सौन्दर्यीकरण प्रति पोखरा महानगरपालिकाका प्रमुख आचार्यको चासोलाई उहाँहरूले खुलेरै प्रशंसा गर्नुभयो ।

ती बिरुवाहरू लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेको सहयोगमा तेह्रथुमबाट ल्याइएको हो भने नेपालमा पाइने ३२ प्रजाति कै बिरुवा खालि जग्गामा रोप्ने योजना बनाइएको छ । यसअघि पनि त्यस स्थानमा लालीगुराँसका बिरुवाहरू सारिएको थियो । महानगरका अग्ला डाँडा पाखामा लालीगुराँस रोपेर संरक्षण गर्न सके सौन्दर्यीकरणसँगै राष्ट्रिय फूलको महत्त्व बढ्ने विश्वास लिइएको छ ।