प्रतिनिधि सभा
पोखरा, ७ साउन/ प्रतिनिधि सभाबाट नागरिकता ऐनको संशोधन विधेयक शुक्रबार बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा पेस गरेका थिए ।
नागरिकता विधेयक संशोधनसहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो । अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ । नागरिकता विधेयक पारित भएसँगै नेपालमा कोही विरोधमा उत्रिएका पनि छन् । नागरिकता विधेयक पारित भएपछि नेपालमा अब ९ वटा परिवर्तन आउने भएको छ ।
१ जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन् । विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ । २०४६ सालको चैत मसान्त भित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो ।
नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् ।
२ आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ । यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ ।
यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता खारेज हुने व्यवस्था गरेको छ । त्यस्तो व्यक्तिलाई सकारले वंशजको साटो अंगीकृत नागरिकता दिनेछ । किनभने नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ।
विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुवा र आमा दुबैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ ।
३ विधेयकले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोलेको छ । विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।
४ नागरिकता बनाउदा आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने भएका छन् ।
५ सरकारले ल्याएको नागरिकता ऐनको संशोधन विधेयकमा लैंगिक पहिचानको विषय उल्लेख थिएन । लैंगिक पहिचान व्यक्तिले रोजेर राख्न पाउने छन् ।
६ नागरिकता दिँदा अब सरकारले बावु र आमा दुबैको विवरण अभिलेखमा राख्ने भएको छ ।
७ विधेयकले विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ । बावुको देशको नागरिकता नलिएको व्यक्तिले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ । त्यसका लागि बावुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको स्वघोषणा व्यक्तिले गर्नुपर्नेछ ।
८ नेपालमा फेला परेका मातृत्व र पितृत्व ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्थामा विधेयकले स्पष्टता कायम गरेको छ ।
९ कुनै व्यक्तिलाई नागरिकता दिलाउन परिवारका सदस्यले कागजात र प्रमाण नदिएको अवस्थामा नागरिकता दिने अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउने व्यवस्था गरेको छ । यसरी सनाखतका लागि परिवारको सदस्य आउनुपर्नेछ। सनाखत गर्न बावु, आमा, पति, पत्नी, हजुरबुवा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु र देवरलाई झिकाउन सक्नेछ ।
परिवारले सनाखत नगर्दा बसोबार गर्ने वडामा कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्ति र स्थानीय तहका एक जना पदाधिकारीले सनाखत गर्न सक्ने व्यवस्था गरेको छ ।