गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०७९ मा प्रकाशित


गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

पोखरा, ३ साउन / नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागातार्थ संघले सोमबार पोखरामा आयोजना गरेको कार्यक्रममा होटल संघका पदाधिकारी तथा सल्लाहकारले पर्यटन क्षेत्रको अवस्था र सुधारका लागि सुझावहरु राखेका थिए । सो अवसरमा भनाई राख्दै महानगर प्रमुख आचार्यले यसअघिका बजेटमा पर्यटन क्षेत्रका लागि एक दुई करोड रुपैयाँ मात्र बजेट विनियोजन हुँदै आएकोमा चालू बजेटमा ५८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

विशेष गरी सडकमार्गको विकास र अन्य कारणले समेत पोखरा र वरपरका कतिपय पर्यटकीय गन्तव्य मासिंदै गएको स्मरण गराउँदै उनले नयाँ गन्तव्यहरुको खोजी गरिनुपर्ने र पोखरा भ्रमणमा आउने पर्यटकको बसाई २ दिनबाट बढाएर पाँच दिनको बनाउने वातावरण तयार गरिनुपर्ने बताए । धार्मिक तथा खेल पर्यटनको विकास र विदेशबाट सन्तहरु बोलाएर सम्मेलन गर्ने विषयमा समेत महानगर र व्यवसायी मिलेर अगाडि बढ्न सकिने उनको भनाई थियो ।

पर्यटकीय लेकसाइड लगायत सिंगो पोखराको सुरक्षा, यहाँको पार्किङ व्यवस्थापन, ट्याक्सीहरुलाई मिटरमा चलाउने विषय, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनको विषयमा समेत महानगर सचेत रहेको उनले सो अवसरमा बताए । पोखरा महानगरभित्र सानो रिङरोड छुट्याएर त्यसको ब्युटिफिकेसन गर्ने तथा ट्राफिक लाइट र सीसी क्यामेराको व्यवस्थाका लागि समेत महानगरले काम अगाडि बढाउने उनले बताए ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा आउने पर्यटक मध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहेको जानकारी दिंदै कोभिडका कारण पर्यटन क्षेत्रका हजारौं मजदूर र व्यवसायी विस्थापित हुन पुगेको बताए । पछिल्लो क्रममा पोखरा आउने पर्यटक संख्या पुनः घट्न पुगे पनि आगामी सेप्टेम्बर महिनादेखि त्यस्तो संख्यामा बढोत्तरी आउनेमा आफूहरु आसावादी भएको भनाई उनको थियो । पोखरामा नयाँ गन्तव्य, पर्यटक संख्या र उनीहरुको बसाई अवधि बढाउन संघ महानगरसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको भनाई पनि उनले सो अवसरमा राखे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलबाट कुन कुन विमान कम्पनीले सेवा दिने हो भन्ने विषयमा पूर्व तयारीका लागि वायुसेवा संचालक संघ नेपालसँग छलफल र सहकार्य गरिनुपर्ने सुझाव राखे । विमानस्थलको धावनमार्ग दुई हजार पाँच सय मिटरबाट विस्तार गरी तीन हजार मिटर बनाइनुपर्ने सुझाव पनि उनले दिए । क्यासिनोको रोयल्टी घटाएर पोखरामा क्यासिनो सुरु गर्न सके पर्यटक बढ्ने सुझाव उनको थियो ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले सबैभन्दा पहिला महानगरका कर्मचारीको व्यवहार सुधार गर्दै घुसखोरी र भ्रष्टाचार अन्त्य गर्ने वातावरण तयार गर्न महानगरप्रमुख आचार्यलाई सुझाव दिए । महानगरमा पर्यटनका लागि अलग शाखाको व्यवस्था र पोखरा दृष्यावलोकनका लागि एकद्वारा प्रणालीको व्यवस्थाका लागि समेत उनले सुझाव राखे ।

हानका सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले नयाँ विमानस्थलबाट पोखराको मुख्य शहरी क्षेत्रसम्म फराकिला र व्यवस्थित सडक निर्माण गरिनुपर्ने सुझाव राखे । संघका सल्लाहकार वच्चुराम तिवारीले पोखराको पर्यटन क्षेत्रको लगानी सुरक्षित हुने वातावरण तयार गरिनुपर्ने भनाई राखे । संघका सल्लाहकार गोविन्दराज पहारीले पोखरालाई पर्यटकीय राजधानी बनाउन महानगरले गरेको प्रयास सराहनीय भएको भन्दै फोहोर व्यवस्थापनमा समेत उत्तिकै ध्यान दिएर अगाडि बढ्न सुझाव दिए । कार्यक्रमा संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले होटल क्षेत्रमा अर्बौ रुपैयाँ लगानी रहेको र यसको सुरक्षा जरुरी भएको भनाई राखे ।

संघकी सदस्य पम्फा पहारीले लेकसाइडमा ध्वनी प्रदूषणको विषय गंभीर रहेको भन्दै यसको नियन्त्रणका लागि पहल अगाडि बढाउन सुझाव राखिन् । अर्का सदस्य सरोज अधिकारीले कोमागाने र वसुन्धघरा पार्क व्यवस्थापन गरेर अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा हानका केन्द्रिय सदस्य विप्लव पौडेल र नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पर्यटनविद वासु त्रिपाठीको पनि उपस्थिति थियो । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए