पोखराको गण्डकी अस्पतालमा ७ करोडको उपकरण हस्तान्तरण पछि मुटु उपचार केन्द्र शुरु
पोखरा, ३२ असार/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु भएको छ । रोटरी इन्टरनेशनलको सहयोगमा करिब सात करोड लागतमा अस्पतालमा क्याथ ल्याब स्थापना गरिएसँगै मुटुका रोगीहरूले अस्पतालबाट उपचार पाउने भएका छन् ।
अस्पताल परिसरमा आयोजित क्याथ ल्याब हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले क्याथ ल्याबको सञ्चालनसँगै मुटुका बिरामीहरूले अस्पतालबाट सहज रूपमा सेवा प्राप्त गर्ने बताए । उनले मेशिन स्थापनासँगै मुटु उपचार केन्द्रले दिने उपचार सेवामा कुनै कमि कमजोरी हुन् नदिन अस्पताल प्रशासनलाई निर्देशन दिए ।
रोटरी इन्टरनेशनल वर्ष २०२१/०२२ का अन्तर्राष्ट्रिय अध्यक्ष शेखर मेहताले सरकारी अस्पतालमा क्याथ ल्याब मेशिन जडान हुँदा अत्यन्तै खुसी भएको बताए । उनले भारतमा वार्षिक रूपमा नेपालका दुई/दुई सय मुटु रोगका बिरामी बच्चाको निःशुल्क उपचार गर्ने प्रबन्ध मिलाएको उनले बताए ।
स्वास्थ्य मन्त्री खापुङ, मेयर आचार्य र रोटरी इन्टरनेशनल वर्ष २०२१/०२२ का अन्तर्राष्ट्रिय अध्यक्ष मेहताले बिहीबार संयुक्त रूपमा उद्घाटन गरेको क्याथ ल्याब कक्ष मेहताले मन्त्री खापुङलाई र मन्त्री खापुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरे ।
आईजिएस ३२० अप्टिमा ब्राण्डको क्याथ ल्याबमा जडित आधुनिक अमेरिकी उपकरण एन्जिओग्राम, एन्जियोप्लाष्टि र मुटुको शल्यक्रियाका लागि आवश्यक जाँच गरिने रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष तथा रोटरी मुटु उपचार केन्द्र परियोजनाका संयोजक बाबुराम बरालले बताए ।