
विन्ध्यवासिनी मावि
पोखरा, ३१ असार/ पोखराको बाटुलचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो ।
आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५ वर्षको सर्वेक्षणमा देशभरका ६२ जिल्लाका सामुदायिक मावि तहका ५ हजार १ सय ४३ विद्यालयहरुलाई आधार लिइएको थियो ।
कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुदाँ आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय संचालित छ । विद्यालयमा १२ सय ५० विद्यार्थी पढ्छन् भने शिक्षक र कर्मचारी गरी ७० जना छन् ।
१३ रोपनीमा फैलिएको विद्यालयमा ३२ कोठे सुविधासम्पन्न भवन छ । विद्यालय प्रध्यानाध्यापक कृष्णप्रसाद आचार्य र विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रा अधिकारी थापा रहेका छन् । २००४ सालमा स्थापित विद्यालयले त्यस क्षेत्रमा शैक्षिक गुणस्तरमा राम्रो नतिजा हासिल गर्दैआएको छ ।