पोखरा, २३ असार/ राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिले पोखरा उपात्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष मानबहादुर जिसीले पोखराको तीन ठाउँको जग्गा भाडादिने गरेको सम्झौता खारेजीको माग गरेको छ ।
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डे सहितको टोलीले पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउदै सम्झौताको खारेजीको माग गरेको हो ।
कार्यकाल सकिनै लाग्दा अपारदर्शी र शंकास्पद तबरले पोखराका विभिन्न स्थानको ६३ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई दिएकोमा गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । कार्यकाल सकिनै लाग्दा नियमित निस्कन छाडेको पत्रिकामा सूचना छपाएर, सदस्य सचिवको सट्टा अध्यक्ष आफैंले हस्ताक्षर गरी हतारहतारमा सम्झौता हुनुले यसभित्र ठूलै चलखेल भएको पुष्टि हुने भन्दै छानविनको समेत माग गरेको छ ।
महानगरका मेयरसमेत रहेका व्यक्तिले सरकारी जग्गा संरक्षण गरी सार्वजनिक हितमा उपयोग गर्नुपर्नेमा व्यक्तिगत फाइदाका लागि यसरी लामो समयसम्म व्यक्तिलाई दिनु पोखरा बासीप्रतिको घात भएको भन्दै सार्वजनिक जग्गाको चरम दुरुपयोग रोक्न माग गरेको सचिब ठाकुर बरालले बताए ।
अघिल्ला अध्यक्षले गरेको अपारदर्शी सम्झौता खारेज गरी पोखरा उपत्यकाका सार्वजनिक जमिन पहिचान, संरक्षण र सार्वजनिक हितका लागि उपयोगको सुनिश्चित गर्न हामी माग गरेको छ ।
मेयर जिसीले पृथ्विचोकमा रहेको यातायातले उपभोग गर्दै आएको जग्गा राइजिङ कन्स्ट्रक्सनलाई दिएका छन् । मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा बुझ्नेगरि मेयर जिसीले ५ रोपनी जग्गा पे पार्किङ प्रयोजनका लागि यो कम्पनीलाई दिएका हुन् ।
त्यसै गरी मेयर जिसीले अर्को निजी कम्पनी एक्सन बिल्डर्सलाई ४० रोपनी जग्गा भाडामा दिएका छन् । पोखरा वडा नम्बर १७ मा पर्ने ४० रोपनी जग्गा कम्पनीलाई भाडामा दिएका हुन् । त्यसै गरी पोखरा पर्यटन बसपार्क १० वर्षको लागि शिला शालिकग्राम निर्माण सेवालाई भाडामा दिइसकेका छन् । जग्गा भाडामा दिएको प्रति नागरीक समाजले पनि विरोध गरेको छ ।