
पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा लगाएको खुलासा भएको छ । कार्यकाल सकिन २ दिन बाँकी रहँदा पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ६३ रोपनी सरकारी जग्गा ठेक्कामा लगाएको खुलेको हो ।
उनले राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्क र गल्फ कोर्स र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, कास्की नजिकै रहेको सवारी ट्रायल सेन्टरको जग्गा ठेक्कामा दिएको खुलेको हो ।
जेठ ५ मा मेयर जिसीको कार्यकाल सकिने थियो उनले जेठ ३ गते ठेक्कामा लगाएका छन् । गल्फ कोर्सको ४० रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र सवारी ट्रेनिङ सेन्टरको करिब ५ रोपनी जग्गा मेयर जिसीले व्यावसायिक प्रयोजनका लागि निजी कम्पनीलाई ठेक्कामा दिएका हुन् । पोखरा उपत्यका नगर विकास समितिको स्वमित्वमा रहेका यो जग्गा १० वर्षलाई चोर बाटोबाट ठेक्कामा लगाइएको हो ।
पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष मेयर हुन्छन् । मेयर जिसीले आफैँले हस्ताक्षर गरेर, समितिका सदस्यलाई थाहै नदिई जाँदाजाँदै जग्गा ठेक्कामा लगाएका हुन् । समितिका सदस्य सचिवसमेत रहने महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल आफूले यो निर्णय भएको थाहा नपाएको बताए ।
राष्ट्रबैंक चोकस्थित गल्फ कोर्स एक्सन बिल्डर्स प्रालिलाई ठेक्कामा दिइएको छ । २ लाख ७२ हजार रुपैयाँ मासिक भाडा उठाउने गरी ठेक्कामा दिइएको हो । बिल्डर्सका विष्णु भण्डारी र मेयर जिसीले ४० रोपनी जग्गा ठेक्कामा सम्झौता गरेका छन् ।
गल्फ कोर्स नजिकैको पोखरा पर्यटन बसपार्क साढे सात करोड रुपैयाँमा निर्माण सकिएको छ ।
महानगरलाई त्यो हस्तान्तरण पनि भइसकेको छैन । महानगरलाई हस्तान्तरण नै भइनसकेको बसपार्क शिला शालिग्राम निर्माण सेवालाई मासिक २ लाख ७५ हजार रुपैयाँ मासिक भाडामा दिइएको छ । ठेक्कामा लिएको कम्पनीतर्फ छबिलाल कुँवर र समितितर्फ तत्कालीन मेयर जिसीले सम्झौतामा हस्ताक्षर गरेका छन् । मुख्य बजार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयले सवारी ट्रायल सेन्टरको मासिक कम्पनीको तर्फबाट गीरबहादुर पुन १ लाख ३५ हजारमा ठेक्का लागएका हुन् ।