काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन जडान
पोखरा, १८ असार/ नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन जडान गरेर सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक पोखरा शाखामा जडान गरीएको मेसिनको गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मेसिन सञ्चालनको स्वीच अन गरेर शुभारम्भ गरे । यसअघिसम्म पोखारमा आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएका थियो ।
नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ । गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेसिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताए ।
बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उनले बताए । यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकामा बिएसबिएस मेसिनको प्रयोगबाट त्यसलाई ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने बैंकले जनाएको छ ।