गण्डकीका मुख्यमन्त्रीको नेकपा एमालेले माग्यो राजीनामा

-


     क्लिक गण्डकी     
     असार १५ गते २०७९ मा प्रकाशित


गण्डकीका मुख्यमन्त्रीको नेकपा एमालेले माग्यो राजीनामा

गण्डकीका मुख्यमन्त्रीको नेकपा एमालेले माग्यो राजीनामा

सागर राज तिमिल्सिना
पोखरा, १५ असार/ नेकपा एमाले संसदीय दलले गण्डकी सरकारको राजीनामा मागेको छ । बुधबार पत्रकार सम्मेलन गरी सरकारले बजेटमाथि निकास दिन नसकेको भन्दै राजीनामा मागेको हो ।

‘बजेट अभिवेशनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेर संसद बन्द गर्नु बहुलठ्ठी पन हो,’ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भने, ‘सरकारसँग अलिकति नैतिकता छ भने राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन मार्ग प्रशस्त गर्नुपर्थ्यो ।’

उनले बजेट माथि छलफल गरेर पारित गर्नुपर्नेमा सरकारले संसद रोकेर अर्थ तथा विकास समितिमा छलफल गर्दै छ भने सुनेको बताए । नेता गुरुङले सरकारको कानुन विपरीतको कार्यमा संसद सचिवालयको पनि पसम्लग्नता रहेको आरोप समेत लगाए । उनले कार्यपालिका र व्यवस्थापिकाको अन्तर पनि सरकारले बुझ्न नसकेको बताए ।

कांग्रेस र माओवादीबीचको विवादले बजेट छलफल रोक्न नमिल्ने उनको भनाइ छ । ‘मुख्यमन्त्रीले संसद् रोक्न मिल्दैन । दलको विवाद मुख्यमन्त्रीको समस्या हो, संसदको होइन,’ उनले अघि भने, ‘कि मुख्यमन्त्रीलेअर्थमन्त्री हटाउन सक्नुपर्छ । कि मुख्यमन्त्री आफैले राजीनामा दिनुपर्छ ।’

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने उनको भनाई छ । मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम समावेश गर्न दिएको निर्देशनलाई लत्याउँदै अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले कार्यक्रम बजेटमा समावेश नगरेपछि विवाद सुरु भएको हो । विवाद भएपछि सरकारले बजेटको छलफल नगरी अनिश्चितकालका लागि संसद स्थगन गरेको छ । गण्डकी सरकारले असार १ गते ३५ अर्ब ९० करोडको बजेट ल्याएको थियो ।