दलीय प्रणाली बाहिर जनताको सेवा कठिनः नेतृ आरजु देउवा

-


     क्लिक गण्डकी     
     असार ६ गते २०७९ मा प्रकाशित


आरजु राणा देउवा

आरजु राणा देउवा

पोखरा, ६ असार / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी रहेको उनले बताइन् ।

नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाब दिइन् ।

प्रधानमन्त्री पत्नी समेत रहेकी नेतृ आरजु देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको उल्लेख गरिन् । उनले भनिन्, अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेको बताइन् ।

स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको भन्दै उनले आफूलाई सुशासनबारे चिन्ता लागेको बताइन् । उनले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको दाबी गरिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका ५ पटक प्रधानमन्त्री भएको तर जनचाहना अनुसार काम गर्न गाह्रो भएको बताइन् ।

उनले पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने गरेको आफूले नजिकबाट देखेको बताइन् । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीले दिएको निर्देशन तरुणहरुले पालना गरेको बताए । सो अवसरमा कास्कीबाट गत ३० वैशाखको चुनावमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।



Tags: