पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०७९ मा प्रकाशित


पल शाह

पल शाह

पोखरा, १९ जेठ/ अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले थुनामै राख्ने आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह ३ महिनादेखि जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको थुनछेक आदेशविरुद्ध १३ वैशाख, २०७९ मा साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्चमा परेको निवेदनमा यसअघि पटक पटक पेसी स्थगित हुँदै आएको थियो ।

बिहीबार सुनुवाइमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ताहरु भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गरेका थिए । यस्तै, सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता ईश्वरी ढकालले बहस गरेका थिए ।

यस्तै, मुद्दामा सहप्रतिवादी कृष्ण जोशीको मुद्दामा पनि सुरु जिल्ला अदालतकै आदेशलाई सदर गरिएको छ । उनी धरौटीमा रिहा भएका थिए ।



Tags: