
पाँचदलीय गठबन्धनले पोखरामा बृहद चुनावी आमसभा गर्ने
पोखरा, २४ बैशाख/ पोखरामा भोलि पाँचदलीय गठबन्धनले बृहद चुनावी आमसभा गर्ने भएको छ । पाँचदलीय गठबन्धनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी भोलि आईतबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ ।
चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
बृहद चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकालिने गठबन्धनले जनाएको छ । विभिन्न स्थानबाट निस्किने ¥यालीलाई गठबन्धन दलका कास्कीका शीर्ष नेताहरुले नेतृत्व सम्हाल्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए ।
बृहद चुनावी सभामा शीर्ष नेताहरुले गठबन्धनको औचित्यबारे प्रष्ट्याउने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । उनले बृहद चुनावी सभा ऐतिहासिक हुने उनले बताए । ‘एकल रुपमा गर्दापनि सभा भव्य हुने गथ्र्यो । अहिलेको चुनावी सभा हामी पाँच दलको संयुक्त भएकाले यसलाई विशाल, भव्य, सभ्य र ऐतिहासिक बनाउँछौं’–उनले भने । उनले यो चुनावी सभाबाट पाँचदलीय गठबन्धनको एकता प्रदर्शन गर्ने दाबी गरे ।