मेयरको उमेद्वार नपाएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

-


     क्लिक गण्डकी     
     वैशाख ७ गते २०७९ मा प्रकाशित


कास्की कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

पोखरा, ७ बैशाख/ सत्ता गठबन्धनले पोखराको मेयर एकीकृत समाजवादीको भागमा पारेको भन्दै कांग्रेस महानगर समितिले कास्की कांग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेको छ ।

महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेर विज्ञप्ती टासेको छन् ।

विज्ञप्तीमा कांग्रेस पोखरा महानगर समितिले स्थानीय निर्वाचनमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएमा विरोध गरेका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

उनले सत्ताको स्वार्थभन्दा माथि उठेर जनभावना एवं आमकार्यकर्ताको मनोभावना उच्च राख्न नेपाली कांग्रेस जिल्ला समिति कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।