पोखरा महानगरमा एमालेका तर्फबाट वडा अध्यक्ष र सदस्यका उम्मेद्वार कतै सिफारिस कतै आज

-


     क्लिक गण्डकी     
     चैत्र २८ गते २०७८ मा प्रकाशित


सुर्य एमालेको चुनाब चिन्ह

पोखरा, २८ चैत/ स्थानीय निर्वाचनका लागि नेकपा एमालेले वडा कमिटीबाट वडा अध्यक्ष र सदस्यका उमेद्वारको नाम सिफारिस गर्न थालेका छन् । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका ३३ वडामा चैत २७ गते वडा अध्यक्ष र सदस्य उमेद्वारहरुको नाम सिफारी गर्ने निर्देशन दिएको थियो ।

सर्वसम्मत गर्न नसकेको खण्डमा प्रत्येक पदमा १ जना महिला सहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए । आइतबार नाम टुङ्गो नलागेमा सोमबार नाम टुङ्गो लगाएर पठाउने भनिएको उनले बताए ।

आइतबार सम्म तीन वटा वडाका नाम मात्रै टुङ्गो लागेको छ भने अन्य वडामा सोमबार लाग्ने छ । वडा कमिटिहरु पोखरा, १३, १८ र २७ ले उमेद्वार छनौट गरी पठाएका छन् । अन्य वडामा पनि छनौटका काम भईरहेको र धेरै आकांक्षी हुदाँ सिफारी गर्न ढिला भएको नेताहरुले बताएका छन् ।

नेकपा एमाले पोखरा १३ वडा कमिटीको अध्यक्षमा वसन्त बराल (राजु), खुला महिला सदस्यमा कृष्णकुमारी गुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा नीलकण्ठ सिग्देल र अमजत अलिमियालाई सिफारी गरेको छ ।
त्यसै गरी नेकपा एमाले पोखरा १८ वडा कमिटीले अध्यक्षमा पुष्कलबहादुर थापा, महिला सदस्यमा कल्पना ढकाल, दलित महिला सदस्यमा मीना नेपाली, खुला सदस्यमा नवराज सुवेदी र रमेश थापालाई उम्मेदवार बनाउने टुंगो लगाएको छ ।

त्यसै गरी नेकपा एमाले २७ को वडा कमिटीले अध्यक्षमा सूर्यमणि लामिछाने, महिला सदस्यमा बुद्धिमाया थापा मगर, दलित महिला सदस्यमा उमा परियार, खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडीलाई उम्मेदवार सिफारी गरेको छ ।
यसअघि २०७४ को निर्वाचनमा पोखरा १३ र १८ नेकपा एमालेले जितेको थियो भने वडा नम्बर २७ नेपाली कांग्रेसले जितेको थियो ।

एमालले वडा कमिटिमा सहमती नभएमा ५ पदका उम्मेदवार मध्ये ३/३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । वडा कमिटिबाट आएको नामलाई जिल्ला कमिटीले टिकट दिन सक्ने वा जिल्लाले थपेर अरु नामका उम्मेदवार पनि बनाउन सक्छ अध्यक्ष गुरुङले बताए ।