उज्यालो गण्डकी प्रदेश घोषणाका तयारीमा गण्डकी प्रदेश
पोखरा, २४ चैत/ गण्डकी प्रदेश सरकारले २ वर्षभित्रमा उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्य लिएपनि चार वर्ष पुरा भई सक्दा पनि विद्युतीकरण हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को अन्त सम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री हरिशरण आचार्यले बिहीबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले अहिले सम्म ५ हजार ९ सय ५५ घरधुरीमा नयाँ मिटर जडान गरि बत्ती बालिएको बताए । बाग्लुङ, नवलपरासी, कास्की र गोरखाका केही घरमा विद्युत जडान गर्न बाँकी रहेको बताए । बाँकी घरमा पनि बत्ति जडान गरेपछि उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने बताए । उनले सोलार प्यालनबाट ६ प्रतिशत, राष्ट्रिय विद्युत प्रशारण लाइन मार्फत ९२ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगेको बताए ।
गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउन नेपाल विद्युत प्राधिकरण पोखरा र भौतिक पूर्वाधार विकास मन्त्रालयबिच ११ बुँदे शर्त सहितको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । त्यसै गरी एक घर एक धारा अन्तरगत ९२ हजार २ सय १९ घरधुरीमा खानेपानीको धारा जडान गरेको मन्त्री आचार्यले बताए ।