गणेशबहादुर भट्टराईलाई मेयरको उमेद्वार बनाउन नेपाल पर्यटन व्यवसायी संघको आग्रह

-


     क्लिक गण्डकी     
     चैत्र २४ गते २०७८ मा प्रकाशित


गणेशबहादुर भट्टराई

गणेशबहादुर भट्टराई

पोखरा, २४ चैत/ पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ ।

पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिले समेत महानगरको उपमेयर समेतको जिम्मेवार सम्हालेका भट्टराईलाई मेयर बनाउँदा पोखराको पर्यटन क्षेत्रसँगै समग्र पोखराको विकास हुने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी काँग्रेसका नेता गणेशबहादुर भट्टराईले भिजन र मिसन भएको लोकप्रिय व्यक्तिलाई पार्टीले महानगरको मेयर उम्मेदवार छनोट गर्नुपर्ने बताए । उनले जितेर देखाउनु ठूलो कुरा भएकाले सबैको साथ र सहयोग पार्टीले दिने उम्मेदवारमा हुनुपर्ने बताए ।

पोखरा व्यवस्थित बनाउन योग्य र सक्षम मेयर उम्मेदवार पार्टीमा आकांक्षी धेरै भए पनि त्यसमध्येबाट योग्य र सक्षम उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो । आफू मेयर बनेमा पोखरा महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । महानगरमा हुने निर्णयहरु भोटको लागि नभई समग्र पोखराको विकासका लागि एजेण्डा बोक्ने हुुनुपर्ने भट्टराईको जोड छ ।

नेपाल पर्यटन व्यवसायी संघ गण्डकीका अध्यक्ष सोम थापाले पर्यटन र विकाससँग जोडिएका व्यक्तिले मात्र पोखराको भविष्य उज्वल बनाउन सक्ने भएकोले भट्टराई उपयुक्त पात्र भएको बताए । नेपाली काँग्रेस पोखरा महानगरपालिकाका नगर सचिव गणेश थापाले पोखरा महानगरले पोखराको तालको मापदण्डको विषयमा भोटको राजनीति गरेको आरोप लगाए ।

महानगरले गरेको निर्णयको प्रतिलिपि माग्न जाँदा मौखिकमात्र भएको भनी जनतालाई भ्रमित पारेको उनको भनाइ छ । पोखरा बनाउनका लागि सबैको साथ र सहयोग हुन्छ, भ्रमित पारेर मतदातालाई प्रभावित पार्न खोज्नु निन्दनीय भएको आरोप लगाए ।

पोखरा महानगर वडा ६ का काँग्रेस इकाइ सभापति सन्तोष पौडेलले मेयरको लागि गणेशबहादुर भट्टराईलाई वडाबाट पठाउने बताए । यस्तै, वडाध्यक्षको लागि भेलाबाट ५ जनाको नाम सिफारिस भएको र उनीहरुबीच १ जनालाई सर्वसम्मत उम्मेदवार बनाउन पहल भइरहेको बताए । वडाध्यक्षका लागि जगत पहारी, बलराम गिरी, शिशिर पहारी, लक्ष्मी भट्टराई र सन्तोष पौडेलले आकांक्षा व्यक्त गरेका छन् ।

कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि डा. कृष्ण पौडेल, दीपकवीर कुँवर, धरमसिंह लामिछाने, महासमिति सदस्य अर्जुन पोखरेल, लक्की कार्की, काँग्रेस जिल्ला सदस्य चौबहादुर गुरुङ लगायतले बोलेका थिए ।



Tags: