पोखरामा नयाँ वर्ष स्वागतका लागि फेवा नव बर्ष महोत्सव

-


     क्लिक गण्डकी     
     चैत्र २२ गते २०७८ मा प्रकाशित


पोखरामा नयाँ वर्ष स्वागतका लागि फेवा नव बर्ष महोत्सव

पोखरा, २२ चैत/ कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्धेश्य सहित पोखरामा नयाँ वर्षमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर क्षेत्रमा सडकमा महोत्सव संचालन हुने छ ।

होटल संघ पोखराको आयोजनामा १७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको हुने लागेको मंगलबार आयोजीत पत्रकार सम्मेलनमा आयोजक होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलोपटक सडकमा नै महोत्सव आयोजना गर्न लागेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले बताए । पोखराका होटलमा अहिले २० प्रतिशत हाराहारी अकुपेन्सी रहेको जानकारी दिंदै सुवेदीले आन्तरिक र भारतीय पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए ।

महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गर्दै अध्यक्ष सुवेदीले रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका वापजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको बताए । होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पछिल्ला बर्षहरुमा पोखरा र वरपरका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यहरु थपिने क्रम रहेको स्मरण गराउँदै यसले पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने बताए । विशाल शिव मूर्ति, केवलकार, बञ्जी जम्पिङ र जिपलाइन जस्ता पर्यटकीय सम्पदाले यस क्षेत्रमा आकर्षण थपिएको पराजुलीले बताए ।

परम्परागत नेपाली खानाको प्रस्तुती र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, प्रख्यात कलाकारबाट पप कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती र लोक दोहोरीका कार्यक्रम महोत्सवका आकर्षण रहने होटल संघ पोखरा निवर्तमान अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

अम्मट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी ती कार्यक्रमहरु संचालन गरिने संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य महोत्सवले लिएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ भने नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।



Tags: