कास्कीका पाँच वटै पालिकामा वडा तहसम्म तालमेल गर्ने सत्तारुढ दलको निर्णय

-


     क्लिक गण्डकी     
     चैत्र २१ गते २०७८ मा प्रकाशित


कास्कीका पाँच वटै पालिकामा वडा तहसम्म तालमेल गर्ने सत्तारुढ दलको निर्णय

पोखरा, २१ चैत/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनका पाँच दलले कास्कीका ५ स्थानीय तह र वडामा सहकार्य गरे निर्वाचनमा जाने निर्णय गरेका छन् । कास्कीमा क्रियाशील राजनीतिक दलका नेताहरुको सोमबार बसेको संयुक्त बैठकले ५ वटै पालिका र ७२ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कास्कीका ५ वटा पालिका र समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए । बैठकले सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गर्ने निर्णय गरेको पराजुलीले जानकारी दिए ।

आसन्न निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सदस्यहरु गंगाधर पराजुली र बाबुराम गिरी, माओवादी केन्द्रका अध्यक्ष बखानसिंह गुरुडं र विश्व प्रकाश लामिछाने, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, होम नेपाली र झपिन्द्र रेग्मी , राजमोको तर्फबाट अध्यक्ष रविमोहन ढकाल, संघीय समाजवादीको तर्फबाट अध्यक्ष गिरी प्रसाद गुरुडं र नारायण भण्डारी बैठकमा सहभागी थिए ।