पोखरा बृद्धाश्रमको रजतजयन्ती

- जेष्ठनागरिक समाजका सम्पत्ती

-


     क्लिक गण्डकी     
     चैत्र १ गते २०७८ मा प्रकाशित


पोखरा, १ चैतः पोखरा महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहकाबीच उद्घाटन गरेको छ ।
रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले टोल टोलमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवश्यक रहेको बताउनुभएको छ ।
पोखरा बृद्धाश्रमको रजतजयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले ज्येष्ठ नागरिक समाजको महत्वपूणर् सम्पत्ति रहेको बताउँदै प्रत्येक घरबाट अधिकतम २० मिनेटको दूरीमा ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी सिपमुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले समाजलाई गोलबद्ध बनाउन ज्येष्ठ नागरिकको भूमिका महत्वपूणर् हुने बताउनुभयो ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले विभिन्न चरण पार गर्दै बृद्धाश्रम रजत जयन्तीसम्म आइपुगेको बताउँदै यसको दीगो सञ्चालनका लागि राज्यको सहयोग आवश्यक रहेको बताउनुभयो ।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी बृद्धाश्रममा जेरियाटिक वार्ड सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले सुरक्षित एवम् सम्मानित ज्येष्ठ नागरिक आजको आवश्यकता भएको बताउनुभयो ।
प्रत्येक ज्येष्ठ नागरिकलाई आ आफ्नै घरमा सम्मानपूर्वक रहने व्यवस्था मिलाउनुपर्नेमा जोड दिदै उहाँले असहायका लागि मात्रै ज्येष्ठ नागरिक आश्रममा बस्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ज्येष्ठ नागरिक आश्रमहरूलाई जीवित भगवान भेट्ने तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा बृद्धाश्रममा विभिन्न रुपमा सहयोग गर्ने व्यक्तित्वलाई मन्त्री श्रेष्ठ र बृद्धाश्रमका अध्यक्ष पराजुलीले सम्मानपत्र र दोसल्लाबाट गर्नुभयो ।
कार्यक्रममा निवृत्त शिक्षक समूदाय कास्कीका अध्यक्ष तोयनाथ लामिछाने, आनन्दी गृहका अध्यक्ष यज्ञमान शाक्य, पोखरा बृद्धाश्रमका सचिव केशवराज लम्साल, उपाध्यक्ष मनमाया खत्री लगायतले समाजको उन्नयनमा ज्येष्ठ नागरिकको महत्व लगायतका विषयमा बोल्नुभएको थियो । पोखरा बृद्धाश्रममा हाल २६ महिला, २२ पुरुष र सातजना स्याहारकर्ता बस्दै आएका छन् ।