लेखनाथ महोत्सवको चौथो दिनसम्म दुई करोडको कारोबार, ७० हजार दर्शकद्धारा अवलोकन

-


     क्लिक गण्डकी     
     फागुन २९ गते २०७८ मा प्रकाशित


लेखनाथ/फागुन २९
लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा आइतबारसम्म दुई करोड रुपैयाको कारोबार भएको छ । महोत्सवको चौथोदिनसम्म आइपुग्दा ७० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
महोत्सवमा आउने दर्शकहरु विभिन्न स्टलमा राखिएका सामाग्रीहरु खरिद गर्न झुम्मिने गरेका छन् । खानाका विभिन्न परिकारका लागि रेष्टुरेण्ट र बालबालिकाको मनोरञ्जनका सामाग्रीहरुमा समेत दर्शकहरुको चाप देखिने गरेको छ ।
महोत्सवमा स्थानीय उत्पादन तर्फ दैनिक दुई सय केजी माछा विक्री भएको कृषी उपसमितिका संयोजक दयाराम तिवारीले जानकारी दिए । महोत्सवमा अहिलेसम्म एक हजार केजी माछा विक्री भएको तिवारीले जानकारी दिए । स्टलबाट जिउँदा माछा र माछाको सिद्राबाट बनाईएको अचार दर्शकहरुको रोजाईमा परेको तिवारीले बताए ।
महोत्सवमा अहिलेसम्म एक सय ८ जनाले कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले एक टिकटमा एक माक्स समेत उपलब्ध गराएका छन् । आइतबार पनि विद्यालयस्तरिय सांस्कृतिक कार्यक्रमका साथ रत्यौली गीत प्रतियोगितामा विभिन्न महिला तथा आमा समूहले सहभागिता जनाएका छन् ।
लोकदोहोरी तर्फ पूणर्कला वि.सी र चन्द्र शर्मा लगायतका कलाकारले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
यसैगरी संगितकार एवं गीतकार बसन्त सापकोटाले आफ्नो संगीत तथा रचनाका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए भने साँझ पख युवा पुस्ता डिस्को जक्कीमा रमाएका थिए ।
यही फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।