फागुन १७ पोखरा । महाशिवरात्रि पर्व आज देशभर धुमधामका साथ मनाईएको छ । राष्ट्रिय सांस्कृतिक पर्वको रुपमा रहेको आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नानगरी शिवालयमा गई श्रद्धा भक्तिपुर्वक पुजा आराधाना गर्ने गर्दछन । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको शिवरात्रि पर्वमा आराध्यदेव भगवान शिवको पूजा आरधाना गर्नाले वर्तमानमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मीक मान्यता रहि आएको छ ।
श्रद्धालु भक्तजनले दिनभर शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् भने वेलुका भगवान् शिवजीलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा÷मुढाको धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने प्रचलन रहिआएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिने गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतवाट समेत साधु, सन्त र तीर्थयात्रीहरु पशुपतिनाथ मन्दिरमा दर्शनका लागी आउने गर्दछन ।
शिवरात्रिकै अवसरमा पोखरामा रहेका विभिन्न शिवालयहरुमा आज विहानै देखी श्रद्धालु भक्तजनहरुको घूइचो लागेको छ । पोखराको प्रशिद्ध विन्धवासिनि मन्दीर, केदारेश्वर महादेव मन्दीर, नारायणस्थान, तालवाराही, भद्रकाली, शितलादेवी लगाएतका शिवालयहरुमा विहानै देखी भक्तजनहरु भगवान शिवको पुजा आराधानाका लागी लामवद्ध रहेका थिए । मेला भर्न आउने दर्शनार्थीहरुको सहजताका लागी मनदीर संरक्षण तथा व्यवस्थापन समितिको आग्रहमा स्वयंसेवकहरुले भक्तजनहरुको लाईनलाई व्यवस्थित वनाएका छन ।