ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

-


     क्लिक गण्डकी     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ ।

यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् ।

आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र वैशाख महिनामा मात्र सिकार अनुमति दिँदै आएको छ । ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीहरुले आफ्नो प्रमुख गन्तव्य मान्दै आएका छन् ।

यस वर्षको पहिलो याममा नेपाल ट्राभल एक्स्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एन्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रूसी नागरिक सिकारका लागि आएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

जंगली जनावर नाउर र झारल सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् । सिकारीलाई आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा खटाएको छ । पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ ।

पेसेवर विदेशी सिकारी कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्दछन् । सिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।

नाउर झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर, सबै बन्दोबस्तीका सामग्री तयार गर्दा एक जना सिकारीले करिब २०/२२ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । विश्वभरका साहसिक सिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा सिकार गर्न अमेरिका, रसिया, स्पेनलगायत मुलुकका सिकारी आउँछन् ।

बागलुङ जिल्ला सदरमुकामबाट झन्डै १३२ किलोमिटर दूरीमा रहेको ढोरपाटन क्षेत्रलाई सडक मार्गले छोएपछि पर्यटक चहलपहल अझ बढेको छ । सरकारले विसं २०४२ मा सिकार आरक्ष स्थापना गरेपछि सिकारका लागि अनुमति प्रदान गर्दै आएको छ ।