
कास्कीमा समानुपातिक मतः रास्वपा पहिलो, नेकपा भन्दा राप्रपालाई धेरै (कुन दलले कति पाए)
पोखरा, २४ फागुन/ कास्कीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातीक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी सबै भन्दा बढि मत पाएको छ । फागुन २१ गते भएको निर्वाचनको आइतबार सकिएको मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत रास्वपाले प्राप्त गरेको छ ।
कास्कीमा समानुपातिक तर्फ १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो । जसमा रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको छ । खसेको मतको ५९ दशमलब ३५ प्रतिशत मत रास्वपाले पाएको छ । रास्वपाले कास्की–१ मा ४१ हजार ३ सय ५६, कास्की–२ मा ३३ हजार ६ सय ५७ र कास्की–३ मा ३८ हजार ६ सय १५ मत प्राप्त गरेको छ ।
कास्कीमा नेपाली कांग्रेस २८ हजार ६ सय ५६ मत प्राप्त गरेको छ । यो कुल खसेको मतको १४ दशमलब ९६ प्रतिशत काग्रेसले पाएको छ । कांग्रेसले कास्की–१ मा १० हजार ७ सय ७८, कास्की–२ मा ६ हजार २ सय ७६ र कास्की–३ मा ११ हजार ६ सय २ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेकपा एमाले २४ हजार १ सय ९९ मत प्राप्त गरेरको छ । खसेको मतको १२ दशमलव ६४ प्रतिशत मत हो । एमालेले कास्की १ मा ९ हजार ५ सय ७५, कास्की २ मा ६ हजार २ सय ७७ र कास्की ३ मा ८ हजार ३ सय ४७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ४ सय ६६ मत प्राप्त गरेको छ । कास्की क्षेत्र नम्बर १ मा १ हजार ९ सय १८, क्षेत्र नम्बर २ मा २ हजार ३ सय ९७ र क्षेत्र नम्बर ३ मा २ हजार १ सय ५१ म्त प्राप्त गरेको छ । राप्रपाले नेकपा भन्दा अगाडी रहेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७ सय ६३ मत प्राप्त गरेको छ । यो खसेको मतको ३ प्रतिशत हो । नेकपाले क्षेत्र नम्बर १ मा २ हजार ६ सय ७५, क्षेत्र नम्बर २ मा १ हजार ३ सय १९ र क्षेत्र नम्बर ३ मा १ हजार ७ सय ६९ मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले ३ हजार ५ सय ६४, राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ७२ प्राप्त गरेको छन् । अन्य ५० वटा दलले ५ सय भन्दा कम ल्याएका छन् ।
कास्कीमा ३ लाख ९ हजार ५ सय ६३ मतदाता रहेका छन् । जसमध्ये समानुपातिक तर्फ ६१.११ प्रतिशत अर्थात १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो । कास्कीमा ४ हजार ६ सय ९८ मत बदर भएको छ ।
यो बदर मत कुल मतको २.४५ प्रतिशत हो । बदर मतमध्ये क्षेत्र नम्बर–१ मा १ हजार ८ सय ५२, क्षेत्र नम्बर–२ मा १ हजार २ सय ८ र क्षेत्र नम्बर–३ मा १ हजार ६ सय ३८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।







