
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, २४ कात्तिक/ कास्की जिल्लामा भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सरकारी तथा गैरसरकारी कार्यालयहरू, होटल र घरहरूमा भएको तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्न रहेको अभियोगमा दुई जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
कास्की जिल्लाभित्रका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा अनुसन्धान कार्य प्रहरीले जारी राखेको छ ।
यस क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान र खोजतलासका क्रममा कार्तिक २१ गते दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा जिल्ला गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका–५ बस्ने २८ वर्षीय दिपक कुँवर र जिल्ला धादिङ स्थायी घर भई हाल पोखरा महानगरपालिका–५ बस्ने २३ वर्षीय दिपक राना मगर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको घरकोठाबाट चोरी गरी राखिएका विभिन्न सामानहरू बरामद गरिएको छ। दुवैजनालाई पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।





