गण्डकी सरकारले क्यान्सर रोगीलाई थप एक लाख रुपैयाँ सहयोग गर्ने

-


     क्लिक गण्डकी     
     भाद्र १३ गते २०८२ मा प्रकाशित


गण्डकी प्रदेश संसद

पोखरा, १३ भदौ/ गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ ।

क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको जनाएको छ । ती अस्पतालहरूमा उपचार गराउने बिरामीहरूले सहायता प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा रमेशकुमार केसीले जानकारी दिए ।

प्रदेश सरकारले वीर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

गण्डकी प्रदेशमा स्थायी ठेगाना भएका बिरामीले मात्रै यस्तो सेवा पाउने स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए । नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम सहुलियत प्राप्त गरिसकेको व्यक्तिलाई सेवा दिइने सरकारले जनाएको छ ।

सहुलियतका लागि बिरामी वा निजको नातेदारले अस्पतालमा पेस गर्नुपर्नेछ । सम्बन्धित अस्पतालले बिरामीको उपचारमा लागेको खर्च मन्त्रालयमा माग गरी शोधभर्नाका रूपमा प्राप्त गर्नेछ । बिरामीलाई भने नगद भुक्तानी नदिने मन्त्री पाठकले बताए ।



Tags: