
सडक
पोखरा, २९ फागुन/ मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेलाई १० हजार जरिवाना गर्ने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदामा १० हजार जरिवाना गर्ने प्रस्ताव गरिएको हो ।
मस्यौदामा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ । अहिले मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुगेको र कानुनले सहमति दिनेबित्तिकै मन्त्रिपरिषद् लैजाने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मस्यौदामा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई गरिने जरिवाना बढाउने प्रस्ताब छ ।
यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा मापसे गरी सवारीसाधन चलाएमा पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सजाय जरिवाना हुने व्यवस्था छ । कानुनको मस्यौदामा मापसे वा नसालु पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई सिधै १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
यसैगरी निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपैयाँ, तोकिएका कागजातबिना सवारीसाधन चलाएमा एक हजार, मोबाइल फोनमा कुराकानी गर्दै सवारीसाधन चलाएमा एक हजार रुपैयाँ, सवारीसाधनबाट सडकमा फोहोर फाल्ने यात्रु/चालक/सहचालकलाई एक हजार रूपैयाँ, चोरीको सवारीसाधन चलाएमा पचास हजार रुपैयाँ, सवारीचालक, परिचालक, सहचालक, यात्रु, पैदलयात्री तथा अन्य व्यक्तिलाई अशिष्ट अपमानजनक व्यवहार गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव मस्यौदामा राखिएको छ । यस्तो जरिवाना तोक्ने अधिकार यातायात निरीक्षक तथा प्रहरीलाई दिइएको छ ।