
पोखरा, २१ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई) को बिहीबार सार्वजनिक नतिजामा पोखरा ७ को मदरल्याण्ड माध्यमिक विद्यालयका २ जना विद्यार्थी जिपिए ४ ल्याएका छन् । विद्यालयबाट परीक्षामा सम्मिलित १ सय ५१ परीक्षार्थीमध्ये २ जनाले ४ जिपिए ल्याएका छन् ।
जोन रानामगर र सुदेश आचार्यले जिपिए ४ ल्याएको विद्यालय प्राचार्य नारायण बरालले जानकारी दिए । मदरल्याण्डमा सानैदेखि पढ्दै आएका उनीहरु पढाइमा निकै मेहनती र अनुशासित रहेको प्राचार्य बरालले बताए । जोन पोखरा ३ नदीपुरका हुन् भने सुदेश पोखरा १७ बिरौटाका हुन् ।
३.६ देखि ४ जिपिए ल्याउने ७२ जना, ३.२ देखि ३.६ जिपिए ४६ जना, २.८ देखि ३.२ जिपिए ३१ जना तथा २.४ देखि २.८ जिपिए ल्याउने २ जना विद्यार्थी रहेको बरालले बताए । २०७५ सालको एसइईमा पनि मदरल्याण्डकै ७ जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका थिए ।
यस वर्ष कक्षा १२ मा विज्ञान संकायमा गण्डकीमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुंगानासहित १४ विद्यार्थीले उच्च शिक्षाका लागि करिब ६० करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ ।





