
झ्याप्ले खोला पहिरोमा बस पुरिदा स्याङ्जाका एकैघरका तीनको मृत्यु
स्याङ्जा, १३ असोज/ वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा पहिरोमा परी स्याङ्जा गल्याङका तीन जनाको मृत्यु भएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका वडा नम्बर ३ लल्याङ स्थायी घर भै बुटवल बसोबास गर्दै आएका आमा सीता भट्टराई छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराईको मृत्यु भएको हो ।
बुटवलको कालिका मानविज्ञान मा.वि. कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराईले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियर २०२४ मा भाग लिएका थिए ।
पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश पुग्नुपर्ने भएका कारण उनीहरु शुक्रबार काठमाडौ जानको लागि बुटवलबाट माइक्रोमा गएका थिए ।
लु१ज ४५७८ नम्बरको माइक्रो शनिबार राती झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको थियो । उनीहरु त्यस बसमा रहेका १४ जनाको मृत्यु भएको थियो । अन्य बसमा रहेकाहरु शव निकाल्न काम अहिले पनि चलिरहेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कोरिया बस्दै आएका बुवा होमनाथ भट्टराई भने नेपाल आउने तयारीमा रहेका छन् । अहिले उनको गाउँ र बुटबलमा शोकमा डुबेको छ ।





