
पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको हत्या
साउन, ७/ पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको हत्या भएको छ । आइतबार राति सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुर स्थित घरमा ८० वर्षीय रायको हत्या भएको हो । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाई रामचन्द्र धानखेती गराउनका लागि साता दिनदेखि चन्द्रनगर बस्दै आएका थिए ।
घरमा रहेका आफन्त समेत रहेका एक कामदारले राति १ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहका अनुसार कुराकानी गर्न भन्दै राति ९ बजेतिर नचिनेका ३ जना आएपछि रायले आफूलाई माथि गएर सुत्न भनेको र राति १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको बताएका छन् ।
प्रहरीका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको छ । उखु काट्न प्रयोग हुने दबियाले टाउकामा प्रहार भएको प्रहरीले जनाएको छ ।
एसपी सिंहको टोली घटनास्थल पुगेको थियो भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितको टोली समेत पुगेको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञ बिनोद पोखरेल सहितको टोली बिहान पौने ५ बजे घटनास्थल पुगेका थिए ।
सातायता चन्द्रनगर बस्दै आएका राय आईतबार दिउँसो मलंगवा नगरपालिका ४ स्थित घर आएर पुनः फर्किएका थिए । २०५६ सालको संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितको साबिक क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहको शाहीकालमा राज्यमन्त्री भएका थिए ।
घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएको एसपी सिंहले बताए । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।